ब्लड ब्याग नहुँदा रगत सङ्कलनमा समस्या
डडेल्धुरा : भारतले गरेको अघोषित नाकाबन्दीका कारण ब्लड ब्याग आयात हुन नसक्दा डडेल्धुरा जिल्लामा रगत सङ्कलनमा समस्या भएको छ ।
रगतको अभाव पूरा गर्न रगत सङ्कलनका लागि शिविरको आयोजना हुने भए पनि ब्लड ब्याग नहुँदा समस्या आएको रक्तसञ्चार सेवा केन्द्र् डडेल्धुराका प्रमुख गणेश ऐरले बताए ।
डडेल्धुरा जिल्लामा दैनिक दुईदेखि तीन पिन्टसम्मको रगत माग हुने भएकाले मौज्दात रहेको रगत र ब्लड ब्याग एक दुई दिनमै सकिने गरेको छ ।
एक दुई दिनमै ब्लड ब्याग उपलब्ध हुन नसके डडेल्धुरा जिल्लामा मात्रै नभई सुदूरपश्चिमका सातवटै पहाडी जिल्लामा रगतको समस्या हुने उनको भनाइ छ ।
हाल रक्तसञ्चार सेवा केन्द्र्र डडेल्धुरामा चार पिन्ट रगत र पाँच थान ब्लड ब्याग मात्रै रहेका छन् । ब्लड ब्यागको अभावका कारण जिल्लामा आवश्यक भएजति रगत सङ्कलन हुन सकिरहेको छैन ।
समयमै ब्लड ब्याग नआए रगतको अभाव सिर्जना हुनसक्ने उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ ।
उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ब्लड व्यागको समस्या भइरहेको अवस्थामा रक्तसञ्चार सेवा केन्द्रमा पनि व्याग नहँुदा सङ्कलनमा अफ्यारो परेको उपक्षेत्रीय अस्पताल व्यवस्थापनका अध्यक्ष लक्ष्मण सिंहले जानकारी गराए।
सुदूरपश्चिमका सातवटै पहाडी जिल्लाको उपचार केन्द्रका रुपमा रहेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा सिएएसदेखि अन्य शल्यक्रिया गर्ने बिरामी आउने गरेका छन् ।
अस्पतालसँग ब्लड ब्याग नरहेको र रक्तसञ्चार सेवा केन्द्र्रसँग रहेको पाँच थान ब्लड ब्याग थोरै भएकाले जति बेला पनि रगतको अभाव सिर्जना हुनसक्ने अस्पातलका डा आनन्दकुमार द्विवेदीले बताए ।
रगतको अभावमा अन्य जिल्लामा बिरामीलाई पठाउनुपर्ने बाध्यता आउन सक्छ । रगत सङ्कलन नभएको समयमा जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले नै रगत दिने भएपनि ब्लड ब्याग नहुँदा खाँचो परेको व्यक्तिसम्म रगत नपुग्ने अवस्था छ ।
ब्लड ब्याग नहुँदा उपक्षेत्रीय अस्पतालमा शल्यक्रिया प्रभावित हुने देखिएको छ । रासस
Source:sabkura news pvt.ltd
ब्लड ब्याग नहुँदा रगत सङ्कलनमा समस्या
Reviewed by Unknown
on
2:21 AM
Rating:
No comments