इटहरीमा शक्तिशाली विष्फोट, ६ जना गम्भीर घाइते
सो विषयमा राती नै प्रहरीले अनुसन्धान गर्दा धेरै ग्यास एकैचोटी लिक भएर आगलागी हुँदा त्यस्तो नोक्सानी भएको हुन सक्ने इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक ओम अधिकारीले बताए। उनले घटनाका विषयमा अरु विस्तृत सोधखोज र छानबिन भईरहेको बताए।
भाँडाबर्तन तथा विभिन्न कम्पनीका ग्यास सिलिन्डरसमेतको व्यापार गर्दै आएका चौधरी समुदायका व्यापारीमध्ये व्यापारी ३० वर्षीय पवन चौधरी, उनकै भाइ २८ वर्षीय सञ्जय चौधरी, उनकी श्रीमती २६ वर्षीया पूजा चौधरी, अर्का भाइ २५ वर्षीय राहुल चौधरी र उनकी २३ वर्षीया श्रीमती अनु चौधरी र माइला भनिने कामदार गम्भीर घाइते भएका छन। घाइतेमध्ये अनुको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।
घाइते सबैको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार भइरहेको पीडित परिवारका जेठो दाजु दिनेश चौधरीले जानकारी दिए।
लगभग बजार चकमन्न अवस्थामा रहेका बेला डरलाग्दो आवाजसहित विष्फोटको आवाज आएको र सो घटना भएको ५०० मिटर आसपासको जमिनसमेत थर्किएको वरिपरिका मानिसले बताएका छन्।
घाइते चौधरीहरुमध्ये विजय चौधरीकी श्रीमती लक्ष्मी चौधरीले भान्छा कोठामा भात पकाएर माथिल्लो तलामा छोराछोरीलाई खाना खान बोलाउन गएका बेला अकस्मात ठूलो आवाजसहित विष्फोट हुँदा घर नै पूरै हल्लिएको बताएकी छिन्।
ती व्यापारीले लामो समयदेखि सानो ग्यास सिलिन्डर भर्ने र बिक्री गर्ने कारोबार पनि गर्दै आएका थिए। घाइते भएका चौधरी दाजुभाइमध्येका जेठा दिनेश चौधरीका अनुसार ग्यास अर्को सिलिन्डरमा पल्टी गर्ने क्रममा भान्छामा बालिएको सिलिन्डरले ग्यास तान्दा त्यस्तो घटना भएको बताएका छन्।
घटनास्थलमा बिहानसमेत बारुदको गन्ध अझै यथावत आइरहेको र घटना भएका स्थानमा अरु सयौँ खाली सिलिन्डरसमेत रहेकाले घटना ग्यास लिकेज भएर आगो लागेको भन्न सक्ने अवस्थाको घटनास्थलमा कुनै सङ्केतसमेत नभेटिनुले घटना रहस्यमय भएको देखिन आएको छ।
योभन्दा अघि पनि ती व्यापारीले अवैध ढङ्गले ग्यास फिलिङ गर्ने र सानो सिलिन्डर बिक्री वितरण गर्दै आएकामा कारबाहीसमेत नगरेको भन्ने विषयले पनि त्यहाँ केही अरु अवैध धन्दा पनि हुने गरेको थियो कि भन्ने आशङ्का गर्न सकिने सम्भावना रहेको आसपासका व्यापारीहरुको भनाइ रहेको छ। रासस
Source:sabkura news pvt.ltd
इटहरीमा शक्तिशाली विष्फोट, ६ जना गम्भीर घाइते
Reviewed by Unknown
on
2:32 AM
Rating:
No comments