धनगढीबाट गाडीको ताँती एक दिनमा चार करोड राजस्व संकलन
गौरीफन्टा नाकामा कुनै अवरोध नभएको र भारतीय पक्षले पनि आएजतिका मालवाहक गाडी सहजै नेपाल पठाउन थालेपछि यो नाकामा आवागमन बढेको हो।
कैलाली भन्सार कार्यालयले राजधानीका लागि बिस्कुट, टुथपेस्ट, ब्रस, पत्रिका छाप्ने पेपर रोल, नमकिन, दैनिक उपभोग्य सामान, विभिन्न कम्पनीका मोटरसाइकल, सिमेन्ट, कोइला, चितवनका लागि कुखुराको तयारी दाना र दाना बनाउन प्रयोग हुने मकै बढी आइरहेको जनाएको छ।
लामो समयदेखि राजधानीमा मोटरसाइकल सकिएकाले गौरीफन्टा नाकाबाट ठूलो संख्यामा मोटरसाइकल भित्रिएका छन्। आइतबार मात्रै मोटरसाइकलको झन्डै चार करोड राजस्व संकलन भएको जानकारी भन्सार प्रमुख हरिप्रसाद पाण्डेयले दिएका छन्। ‘सोमबार मोटरसाइकलको मात्रै चार करोड राजस्व संकलन भएको छ।
यसअघि मोटरसाइकलबाट मात्रै ८ करोड राजस्व संकलन भएको छ’, पाण्डेयले भने।यस्तै तीन दिनअघि जनक शिक्षा सामग्रीको कागज पनि यही नाकाबाट भित्रिएको थियो। ७७ लाख भन्सार तिरेर उक्त कागज काठमाडौं गएको भन्सार कार्यालयले जनाएको छ।
नाकाबन्दीअघि दैनिक अनुपातमा ३५/४० वटा गाडी आइरहेकोमा अहिले त्यो संख्या दोब्बर भएको भन्सार कार्यालयले जनाएको छ।पुसको राजस्व लक्ष्य १३ करोड ६६ लाख रहेकोमा उक्त राजस्व ५ गते नै पुगिसकेको भन्सार कार्यालयले जनाएको छ। असोज र कात्तिकमा राजस्व लक्ष्यभन्दा कम भए पनि मंसिरमा भने २८५ प्रतिशतले बढेको भन्सार प्रमुख पाण्डेयले बताए।
भारतीय अधिकारीले गाडी पठाउन थाले
भैरहवा:असोजदेखि अघोषित नाकाबन्दी रहेको सुनौली नाका सहज भएको छ।
संसद्मा संविधान संशोधन विधेयक दर्ता भएसँगै सीमावर्ती भारतीय अधिकारीले त्यसको स्वागत गर्दै नाकामा रोकिएका मालवाहक ट्रक, इन्धन तथा ग्यासका बुलेट सोमबारदेखि पठाउन थालेका हुन्।
सीमावर्ती अधिकारीले मधेसी मोर्चाका कार्यकर्तालाई पनि आफ्नो भूमि तथा दसगजामा बसेर आन्दोलन, धर्ना एवं नाकाबन्दी गर्र्न नदिएपछि सुनौली नाकाबाट सोमबार दिउँसो इन्धनसहित करिब पाँच सय गाडी नेपाल भित्रिएका छन्।
त्यसमा ५ वटा डिजेल, मालवाहक ट्रक २०८, अन्य २१४, बस ३२ र पिकअप गाडी १७ वटासहित चार सय ६६ वटा सवारीसाधन नेपाल प्रवेश गर्न दिएको बेलहिया नाकाका प्रहरीले बताएका छन्।
यही गतिमा गाडी भित्रने हो भने अबेर रातिसम्म एक हजार पुग्ने भन्सार क्लियरिङ प्रतिनिधि तथा सीमावर्ती सुरक्षाकर्मीले बताए।
संसद्मा संविधान संशोधन विधेयक दर्ता भई छलफलको कार्यसूची सार्वजनिक भएको र विवादित संघीय प्रदेशको सीमांकन पनि तीन महिनासम्म टुंग्याउने कुरामा मधेसी मोर्चासँग वार्ता अगाडि बढिरहेकोमा सीमावर्ती भारतीय अधिकारी सकारात्मक बन्दै नाकाबाट तीव्र रूपमा गाडीहरू पठाउन थालेका हुन्।
Source:sabkura news pvt.ltd
धनगढीबाट गाडीको ताँती एक दिनमा चार करोड राजस्व संकलन
Reviewed by Unknown
on
7:01 PM
Rating:
No comments